मैत्रीपूर्ण खेलमा पोर्चुगल र स्पेनको बराबरी

काठमाडौं, असोज २२
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत युरोपका दुई ‘पावरहाउस’ टोलीहरू पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेका छन् । पोर्चुगलको लिस्वन सहरस्थित जोसे अल्भालाडे रंगशालामा भएको खेल गोलरहित ०–० बराबरीमा सकिएको हो ।

आफ्नो घरमा पोर्चुगलले पहिलो हाफमा दोस्रो रोजाइका खेलाडीसहितको मिश्रित टोली उतार्दा फितलो प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले खेलाडी परिवर्तन गरेर प्रदर्शनमा सुधार गरे पनि गोल निकाल्न सकेन । पोर्चुगलका दुई कडा प्रहार बारमा लागेर फर्किंदा पोर्चुगल निराश बनेको थियो ।

दोस्रो हाफमा सुरुआतमा कप्तान क्रिस्टियानो रोनाल्डाको एक कडा प्रहार बारमा लागेर फर्किएको थियो । त्यसपछि रेनाटो सान्चेजले रोनाल्डोकै सुन्दर क्रस पासमा निकै राम्रो अवसर बनाएका थिए । तर, उनको प्रहार पनि बारमा लागेर फर्किंदा पोर्चुगल निराश बनेको थियो ।

यता, पाहुना टोली स्पेनले खेलमा पटक–पटक अवसर बनायो । तर, पोर्चुगलका गोलकिपरले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनले पनि गोलको खाता खोल्न सकेन । स्पेनले पनि पोर्चुगलविरुद्ध आधाजसो नयाँ खेलाडीलाई मौका दिएको थियो ।

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १९:४१
Loading...