रियल मड्रिड आफ्नै घरमा बराबरीमा रोकियो !

काठमाडौं, भदौ ८
अन्तिम समयमा सम्हालिन नसक्दा स्पेनिस रियल मड्रिड घरेलु लिग ला लिगामा सिजनको दोस्रो खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियललाई पाहुना टोली भाल्लाडोलिडले अन्तिम समयमा गोल गर्दै १–१ को बराबरीमा रोकेको हो ।

सिजनको पहिलो होम म्याचमा रियलले पहिलो गोलका लागि ८२औ मिनेटसम्म संघर्ष गर्नु परेको थियो । जहाँ फ्रेन्च फरवार्ड करिम बेन्जेमाले निकै दर्शनीय गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए ।

तर, रियलको अग्रता धेरैबेर टिकेन । खेलको ८८औं मिनेटमा भाल्लाडोलिडका लागि सर्जियो ग्वार्डिओलाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि बाँकी समयमा दुवै पक्षबाट गोल नभएपछि खेल १–१ मा टुंगियो ।

यससँगै रियलले पहिलो घरेलु मैदानको खेलबाटै अंक बाँड्न बाध्य भएको छ । रियलले दुई खेलबाट ४ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ । ६ अंक भएको सेभिल्ला शीर्ष स्थानमा छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १८:५८
Loading...